आगोसँग खेल्छन् अस्ट्रेलियाका आदिवासी

आगोसँग खेल्छन् अस्ट्रेलियाका आदिवासी

विश्वभर जङ्गल क्षेत्रनजिक बस्नेहरूमा एउटा चलन छ, जङ्गलका केही क्षेत्रमा आफैंले आगो लगाउने। तर, त्यो आगो लगाउने कार्य प्रायः जङ्गल सखाप गर्न होइन, जङ्गल बचाउनका लागि हो।

अस्ट्रेलिया अहिले भीषण डढेलोको प्रकोपमा छ। विशेषतः न्यू साउथ वेल्स, भिक्टोरियालगायतका राज्यमा विभिन्न स्थानमा भएको ‘बुसफायर’सँग जुझ्दै छ त्यहाँको सरकार।

झन्डै १ सय ८६ वर्ग किलोमिटरको क्षेत्र उक्त डढेलोले प्रभावित छ भने हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन्। यसबाहेक झन्डै १ अर्बको हाराहारीमा त्यहाँका जीवजन्तु तथा पशुपङ्क्षीले पनि ज्यान गुमाएको तथा लोपोन्मुख प्रजातिसमेत लोप हुन थालेका छन्।

अस्ट्रेलियाको भिक्टोरियाको उत्तरी क्षेत्रका आदिवासी आफ्नो क्षेत्रलाई ‘जान्डाक वि’ भनी सम्बोधन गर्छन्। यसको अर्थ हुन्छ, ‘आगोको देश’।

यहाँ देश भनेर अस्ट्रेलियालाई सम्बोधन गरिएको होइन, त्यहाँका आदिवासीको बसोबास रहेको क्षेत्र मात्र हो, जहाँ ब्रिटीस साम्राज्यवादले छोएको छैन। अस्ट्रेलियाका धेरै क्षेत्र डढेलोको प्रकोपमा रहँदा ‘आगोको देश’ जान्डाक वि क्षेत्र भने शान्त छ।

कारण, त्यहाँका आदिवासी जनताले त्यस क्षेत्रलाई ब्रिटिस साम्राज्यमा गाभिनुभन्दा हजारौँ वर्षदेखि सम्हाल्दै आएका छन्। कसरी? आगोकै प्रयोग गरेर।

‘आगोको देश’का आदिवासीहरू ती जङ्गलकै नजिक बस्छन्, हजारौँ वर्षदेखि त्यही जङ्गलकै वरपर बाँचेका छन्। स-साना झारपातमा आदिवासीहरू आगो लगाउँथे, व्यवस्थित रूपमा ताकि नयाँ पालुवा उम्रियोस्।

यस तरिकाको अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका फाइदा थियो। दीर्घकालीन रूपमा आगोको देशमा ठुल्ठूला आगलागी हुनबाट यसले बचाउँथ्यो र आदिवासीको जीवनयापनलाई निरन्तरता दिन्थ्यो।

अल्पकालीन रूपमा नयाँ-नयाँ पालुवा उम्रेपछि जनावर तिनका नजिक आउँथे, आहारका लागि। ती जनावरको सिकार गरेर आदिवासी समूहले खान्थे। यससँगै चाँडै आगो टिप्न सक्ने झारपात, पात-पतिङ्गर पनि यसरी नियन्त्रित रूपमा आगो लगाई व्यवस्थित गरिन्थ्यो।

परम्परागत आदिवासी ज्ञानअनुसार आगो आफैं एउटा समाधान हो। जहाँ अस्ट्रेलियाली जनता र विश्व जङ्गलमा लागेको आगोबाट डराएका छन्, त्यहाँ ‘आगोको देश’का आदिवासीका लागि भने यो डरलाग्दो चीज नै होइन।

युरोपियन साम्राज्यमा गाभिनुअघि अस्ट्रेलियाको आदिवासी समूहले आफैले जङ्गलमा आगो लगाउनु उनीहरूको दैनिक जीवनयापनको अभिन्न अङ्ग नै थियो।

दुई सय वर्षभन्दा अघि यस किसिमको अभ्यासको उल्लेख पाइन्छ। ठूलो क्षेत्रमा प्रकोप फैलाउने ठुल्ठूला डढेलोबाट बच्ने स–सानो आदिवासी उपाय थियो, ‘सांस्कृतिक आगजनी’। आदिवासीले आफ्नो क्षेत्रलाई सुरक्षित गर्न यही उपाय अपनाउँथे।

सन् २०१९-२० को यो डढेलोले जलवायु परिवर्तन र बढ्दो सुक्खा निम्त्याएको छ। सायद यसरी परम्परागत अभ्यासमा भएको ‘सांस्कृतिक आगजनी’ले त्यति ठूलो स्तरको प्रकोप नियन्त्रण हुन्थ्यो कि?

अस्ट्रेलियामा यसरी डढेलोको प्रकोप भएको यो पहिलो घटना होइन। यसअघि थुप्रैपटक यस्ता घटना भएका थिए, तर त्यहाँका आदिवासी लामो समयदेखि त्यहाँ बाँचिरहेका छन्, बसोबास गरिरहेका छन्। शायद उनीहरूले आगोको त्यो जुक्ति नजानेका भए यत्रो वर्षसम्म कसरी बाँच्न सक्थे र?