पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना

पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना

पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँकाे माैसम बदली भइरहेकाे छ । तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ ।बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिरमात्रै केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।

कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका छन् । मङ्गलबार पनि बिहानैदेखि तराईका चितवनबाहेक सबैजसाे जिल्लामा बाक्लो कुहिरो लागेको छ ।

कुहिरो दिनभर रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । दुई, तीन दिनदेखि लगातारजस्तै कुहिरो लागे पनि बेलुकातिर केहीबेर हट्ने गरेकाले यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् श्रेष्ठले बताउनु भयो ।

यसैबीच मङ्गलबार पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । साेमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनु भयो ।