बिग ब्यासमा सन्दीपले लिए विकेट, मेलवर्न स्टार्सकाे आठौं जित

बिग ब्यासमा सन्दीपले लिए विकेट,  मेलवर्न स्टार्सकाे आठौं जित

नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा आठौं जित दर्ता गरेको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको मेलवर्नले दोस्रो स्थानको सिड्नी सिक्सर्सलाई ४४ रनले पराजित गरेको हो । मेलवर्नले दिएको २२० रनको विशाल लक्ष्य पछ्याएको सिक्सर्स ७ विकेट गुमाउँदै १७५ रनमा रोकिन पुग्यो ।

सिक्सर्सका लागि मोएसिस हेनरिकले ४१ रन बनाउँदा जोर्डन सिल्कले ३२ रन बनाए । यस्तै डेनियल हग्सले २० तथा जेम्स भिन्सले १६ रन बनाए । वने डारविस अन्तिमसम्म टिक्दै नट आउट सर्वाधिक ४२ रन बनाए पनि मेलवर्नले दिएको विशाल लक्ष्य पार गराउन असफल रहे ।

आइतबारको खेलमा सन्दीपले ४ ओभरमा ३५ रन खर्चिएर १ विकेट हात पारे । मेलवर्नको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएका सन्दीपले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा मोसिस हेनरिकले छक्का प्रहार गरेका थिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा २ रन दिन पुगे । पाँचौ बल डट राख्दै रन रोक्ने प्रयास गरेका सन्दीपले छैटौं बलमा एक रन दिन पुगे ।

उनले पहिलो ओभरमा १० रन खर्चिएका थिए । दोस्रो ओभर लिएर टिमको दशौं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा २ रन दिए भने तेस्रो बलमा छक्काको सामना गरे । चौथो र पाँचौं बलमा एक एक रन दिएका सन्दीपले अन्तिम बलमा भने एक रन पनि खर्चिएनन् ।

उनले दोस्रो ओभरमा पनि १० रन नै खर्चिए । २ ओभरमा २० रन खर्चिदासम्म सन्दीप विकेट विहीन नै थिए । व्यक्तिगत तेस्रो ओभर लिएर सन्दीप १३ औं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा विकेट लिन सफल भए ।

उनले टम कुरानलाई आउट गर्दै पेभेलियन पठाए । त्यसपछि तेस्रो पाँचौं र छैटौं बलमा एक एक रन दिएका सन्दीपले चौथो बलमा भने २ रन खर्चिएका थिए ।

व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले १ विकेट लिँदा ५ रन खर्चिए । तेस्रो ओभरम्म सन्दीपले १ विकेट लिँदा २५ रन दिएका थिए । सन्दीपले आफ्नो अन्तिम ओभर लिएर १७ औं ओभरमा आएका थिए ।

पहिलो बल मा २ रन खर्चिएका सन्दीपले दोस्रो बलमा चौका दिन पुगे । तेस्रो बलमा एक रन खर्चिए पनि चौथो बल भने डट राखेका थिए । यस्तै पाँचौं बलमा २ तथा अन्तिम बलमा एक रन दिन पुगे । चौथो ओभरमा सन्दीपले १० रन खर्चिए ।

समग्रमा चार ओभर बलिङ गर्दा ३५ रन खर्चिएर सन्दीपले १ विकेट लिए । जारी प्रतियोगितामा सन्दीपले विकेट संख्या भने ९ बनाएका छन् ।

मेलवर्नका लागि क्लिन हिनचिलिफले ३ विकेट लिँदा सन्दीप लामिछाने, लेन्स मोरिस, हेरिस रफ र डेनियल वरलले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा १ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार पारेको थियो ।

मेलवर्नले विशाल योगफल तयार पार्दा मार्कस स्टोनिसले शतक तथा हिल्टन कार्टराइटले अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि स्टोनिस र हिल्टनले २०७ रनको ऐतिहासिक साझेदारी गरे । यो विग ब्यासको सर्वाधिक ठूलो साझेदारी पनि हो ।

२०७ रन हुँदा १९.१ ओभरमा हिल्टन ५९ रन बनाएर आउट भए । हिल्टनले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गरेका थिए । यसैगरी नट आउट १४७ रन बनाएका स्टोनिसले ७९ बलमा ८ छक्का र १३ चौका प्रहार गरे ।

यसैगरी ग्लेन म्याक्सवेलले २ बलमा ५ रन बनाउँदै नटआउट रहे । मेलवर्नले गुमाएको एक विकेट सिड्नी सिक्सर्सका टम कुरानले लिए ।