धनगढी । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा हिमपातपछि चिसो बढेको छ।
बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन्।
पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ।
पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका–७ का स्थानीय धनलाल पाध्यायले बताए।
यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिनुभयो ।
हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ। गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्याउन नसकिएको रोकायाले बताए।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले भने किसान खुशी भएका छन् ।
लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले आग्रह गरे।
पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण बन्द गरिएको छ।
वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षा प्रभावित भएको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याले बताए।