नेपाली परिवेश

नेपाली परिवेश

आज मलाई नेपाली राजनेता र नेताका पछाडि हिड्ने टुटेफुटे कार्यकर्तालाई सोझै प्रश्न गर्न मन लाग्यो। के नेपाल आमाका सन्तान भारतीयका सुपुत्र भइसकेका हुन् र? वीर गोर्खालीका सन्तान कायर भइसकेका छन् र? विस्तारवादी सोच हावी भएकाहरुको मिसन लाई पिसन बनाउन सक्ने तत्व कमजोर भएकै हो र?

के नेपाली जनताले सधैं भारतको इसारामा चल्नुपर्ने हो र? अब त यस्तो लाग्छ लोकतन्त्रको सट्टामा भारततन्त्र हावी भइसकेको हो कि? यी सबै प्रश्नको उत्तर हामी सब एक भएर खोज्नुपर्ने हो तर खै एउटा नेपालीलाई अर्को नेपालीको मतलब गर्दैन किन? एक नेपाली खानपिउनका लागि तड्पिरहेको हुन्छ तर त्यही तड्पिरहेको मान्छेले तिरेको करले महलको मोजमस्तीमा एेसाराम भएर बसिरहेका हुन्छन्।

दुखी जनता दु:ख र पीडामा छट्पटाइरहेका बेला जनताको सेवा गर्छु भनेर गएका माननिय र सम्माननियहरु भने  आफ्नै दुनो सोज्याउने काम मा व्यस्त छन् । केही समय अगाडिका कुरा गरौं न सुदुरपश्चिमको कञ्चनपुर जिल्लाका गोविन्द गौतमको विभत्स हत्या गरियो तर त्यो दृश्य आफुलाई महान नेता मान्ने माननिय र सम्माननियहरु का लागि रङ्गमञ्चमा भइरहेको खेल जस्तै भयो।

संगै भारतिय सीमा बजारमा गएका नेपाली महिला माथिको ज्यादती हुंदा पनि सरकारी निकायमा आसिन माननिय र सम्माननियहरु का लागि चनावका एजेण्डा र छतमा चड्न प्रयोग गरिने सिडी जस्तै भएका छन्। कहिले नेपालका सीमामा बसोबास गरिरहेका नेपालीहरुमाथि विभिन्न किसिमका दबाब सृिजना गर्नुका साथै बन्दुकको डर र त्रास देखाउने र उक्त भुमी आफ्नो हो भनि हक जमाउन समेत पछि नहट्दा नेपाली मुलका सम्माननियहरु भने मुखदर्शक भएर बसिरहेका हुन्छन्।

वर्षा याममा सिमामा रहेका नेपालीहरु डुबानमा पर्छन र हिउंदमा भने पानीको अभावमा जिउंछन, यो प्रक्रिया सिलसिला जस्तै चलेको बर्षौं भयो तर जतिसकै नेता प्रधानमन्त्री भएपनि केही राहत समेत दिनसकेका छैनन्, जति जोगी आएपनि कानै चिरेको भन्या जस्तै। अझै विकासका कुरा गर्ने हो भने त झन कुरा ठुलाठुला काम भने झिनामसिना पनि नगर्ने।

जहां समुद्र नै छैन त्यहा पीनीजहाजको परिकल्पना गरिन्छ तर हामी संग उपलब्ध खानी र जनशक्तिको  सदुपयोग गर्ने कुनै छांटगांट नै छैन। बाटो बनाइन्छ करोडौं खर्च गरेर तर एक वर्ष पनि नटिक्ने र बनाउदां दिगो विकासका कुरा गर्ने तर बीच बाटोमा रुखविरुवाहरु जस्ताको त्यस्तै राख्ने।

के यही हो दिगो विकास भनेर प्रश्न गर्न मन लाग्छ। सरकार मात्रै यसको  जिम्मेवार पक्ष होइन जनता पनि येसको जिम्मेवार हुन। जनताले  पनि सरकारले बनाएका नियम पालना गर्नुको साटो गैरजिम्मेवार भएर काम गर्ने गरेको पाइन्छ। संविधान, नियम, कानुन त जनताका लागि कागज मात्र भए। चुनाव आउंदा नेताले बांडेको हात्तीको नोट देखेर र्याल चुहाउने काममा हामी दखल छौं।

एक नेपाली अरुबाट चुटिंदा वा लुटिंदा रमिते बनेर बसिरहेका हुन्छौं। पैसा अनि पावरका पछाडि दगुरिरहेका हुन्छौ तर व्यवहारिकरुपमा पावर र पैसा नहुने मान्छेको अवस्था के होला भन्ने कुराको कुनै विश्लेषणै गर्दैनौं। भन्ने बेला यो भएन त्यो भएन भन्छौ तर चुनावका वेला मासुभातमा रमाउंदारमाउंदै विगतमा गरेको गल्ती नै भुलिदिन्छौ।

आफुले नपाए विरोध गर्ने नत्र चुपचाप सहिरहने प्रव्रिति हामी सबैमा हावी भएको महशुस गरिरहेका छौं। हातमा डिग्री पास गरेका प्रमाणपत्र त छन तर व्यवहार भने जनावरको भन्दा तल्लो हुन्छ। यस्ता कार्यहरु हाम्रा लागि त हानिकारक हुन हुन र पछिको पुस्ताको लागि पनि त्यो भन्दा झन हानिकारक हुनेछन भन्ने कुरा प्रष्ट हुन्छ त्यसैले यो समाधान खोजिनु आवश्यक छ।

सब भन्दा पहिला सरकारले जनतालाई नैतिकवान, कर्तव्यनिष्ट, इमान्दार,लगायतका गुणहरुको विकास गर्न विध्यालयस्तर देखि पाठ्यक्रम सुदृढिकरण गर्दै लैजानुपर्छ र जनताले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि संस्कार सिकाउंदै लैजानुपर्छ। सानै उमेरदेखि बालबालिकाहरुलाई संस्कार र संस्कृति, मानविय मुल्य तथा मान्यताहरु सिकाउंदै लैजानुपर्छ।

सरकारले नियमनकारी संस्थालाई कडाइका साथ पेश हुन निर्देशित गर्नु निकै  जरुरी छ। आफुले बनाएका नियमको पालनामा सम्पुर्ण स्तरका जनसमुदायमा समान किसिमको व्यवहार सृिजना गरिनुपर्छ र उपलब्ध प्राकृतिक तथा सांस्कृतिक स्रोत तथा साधनको न्यायोचित ढङ्गबाट वितरण गरि सम्पुर्ण जनमानसमा अपनत्व र गौरान्वित गराउनुपर्छ। किशोरकिशोरी अवस्थामा आमाबाले साथीको रुपमा प्रस्तुत हुनुपर्छ।

नियम तथा कानुनको सही प्रयोग गर्नका लागि जनतामा चेतनास्तरको वृद्धि गर्नुकासाथै कडाइका साथ कार्यन्वयन गर्नुपर्छ। सही ठाउंमा सही व्यक्तिको छनोट गरेर न्यायोचित ढङगले वितरण गरिनुपर्छ।सरकार एक्लै काम गर्न नि सक्दैनन र जनता पनि सक्दैनन त्यसैले जनता र सरकारले आ-आफ्नो जिम्मेवारी हो भन्ने सम्झेर अगाडि बढ्नुपर्छ।

तराई मासिदा पहाडलाई दुख्नु पर्यो अर्थात् तराइमा हुरी आउंदा पहाडले छेक्नुपर्यो। एक नेपाली कुटिदां रमिते होइन प्रतिकार गर्नुपर्यो त्यसको विरोध गर्नुपर्यो। नेपाली माटो भनेकी हाम्री आमा हुन् भन्ने कुरामा प्रष्ट हुनुपर्यो भने आमाको नै पहिचान छैन भने परिचय नै फरक हुन्छ भन्ने कुरा पनि बुझ्नुपर्यो। जनताले पनि मासु भातको स्वादमा आत्मस्वाभिमान गुमाउनु हुदैन र नैतिक मुल्य मान्यताका आधारमा कार्य शैलीक्रम सञ्चालन गर्नुपर्यो।

जसरी हामी मानव शरीरको एक मात्र भागमा कुनै चोट लाग्यो भने पनि दिमागमा पीडाको महशुस हुन्छ त्यसै गरि नेपालको कुनै भाग अर्थात सिमानामा कसैले छुने प्रयास गरे मात्रै पनि पुरै देशलाई छुएजस्तो हुनुपर्यो अर्थात सबैको मन मस्तिष्कमा मेरै जग्गा लुटिएको हो भन्ने सोच बनाएर अघि बढ्नुपर्छ।

गौतम बुध्द को राष्ट्र बाट नै शान्तिको बिगुल फुक्नुपर्छ ता कि विश्व शान्तिले डगमगाओस् र सगरमाथामा नेपालको झण्डा फहराउनुपर्छ ता कि विश्वको हरेक मान्छेले नेपाल अनि नेपालीको तागत र झण्डाको गोप्य तरङ्ग कस्तो छ र बहादुर कहलिएका नेपालीहरुको औकात के हो भन्ने कुरा? नेपाल सरकार आफ्नो स्वाभिमान कायम राख्दै आन्तरिक स्रोत साधनको समुचित प्रयोग गर्न सधैं तत्पर हुनुको साथै जनता पनि राष्ट्रियतामा सबभन्दा बलियो बनाइनुपर्छ।

कानुन बनाएर मनगढन्ते चिप्काहट गरेर यो भुलभुलइयामा नाचेको समाज बदल्न गार्हो छ त्यसैले कानुनको कार्यान्वयन कडाइकासाथ गरिनुपर्छ। सब जनतालाई कानुन मिच्दा डरले हात कमाउने मात्र होइन सोच्दासोच्दै आफैमा अपराधिको महशुस गरोस्। नेपाली आफैमा नेपाली बन्नुपर्छ न कि भारतको चिप्काहटमा चिप्किने होस जसरी  चुम्बकमा फलाम चप्किन्छ।

तर राष्ट्रियताको कुरामा नेपाली नेपालसंग चुम्बकमा फलाम चप्क्या जस्तै चप्किनुपर्छ। नेपाली भारतका रोगी हैनन्, नेपाली नेपालका रोगी हुन, राष्ट्रियताका रोगी हुन्, स्वाभिमानका रोगि हुन्, भन्ने कुरा यो दुनियालाई प्रष्ट पारिदिनुपर्छ।

कहिल्यै पनि भारतको रोग, भोक र सोक नपाल्ने बन्नुपर्छ। नेपाल सधैं नेपालजस्तो बन्नुपर्छ झन नेपाली त बहादुर उपनामको नविकरण गरिनुपर्छ ता कि यो दुनियाका हरेक किताब नेपालीको वर्णन गर्दागर्दै भरियोस् ।

आउ मिलौं नेपाली पनले नेपाल रङ्ग्याइदिउं, एकताको सन्देश नेपालबाट फैलाइदिउं। काण्डैकाण्डको देश होइन ब्राण्डिङ्हरुको देश बनाउनुपर्छ, नेपाल आफैंमा ब्राण्ड बन्नुपर्छ।