किर्ते गर्ने ब्यवसायी पक्राउ गर्न काठमाण्डौं प्रहरीलाई पत्र

किर्ते गर्ने ब्यवसायी पक्राउ गर्न काठमाण्डौं प्रहरीलाई पत्र

धनगढी –  टेण्डर हत्याउन कर चुक्ता प्रमाणपत्र किर्ते गरेको धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालकहरुलाई प्रक्राउ गर्न कैलाली प्रहरीले काठमाण्डौं प्रहरीको सहयोग लिने भएको छ । 

कर चुक्ता प्रमाण पत्र किर्ते गरेको पुष्टि भएपछि अदालतबाट पक्राउका लागि प्रहरीले अनुमति पाएको लामो समयसम्म पनि अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालकहरु दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल पक्राउ नपर्दा आलोचना बढ्न थालेपछि प्रहरीले पक्राउ गर्न काठमाण्डौं प्रहरीको सहयोग लिन थालेको हो । 
सञ्चालक मध्येका एक दुष्यन्त बस्नेत काठमाण्डांैमा लुकेर बसेको भन्ने सूचना पाइएकोले महानगरी प्रहरी परिसर काठमाण्डौंलाई अभियुक्तको फोटो सहितको पत्र पठाएर सहयोग मागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले बताउनुभएको छ ।

काठमाण्डौंमा लुकेर बसेको सूचना पाएपनि काठमाण्डौंको लोकेसन थाहा नभएका कारण खोज्न समस्या भइरहेको र मोबाइल फोन समेत स्वीच अफ गरिएकोले खोजीमा समय लागेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिनुभएको छ । अर्का सञ्चालक अग्रवाल भने भारतमा लुकेको सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ । 

अमित मेडिसिन डिस्ट्रिब्युुटर्सका सञ्चालकहरु फरार रहेपनि सो पसल र सोही ब्यवस्थापन अन्तर्गत सञ्चालित अन्य दुई फार्महरु ड्रग सेन्टर र डि.बि. मेडिसिन सेन्टरले कारोबार गरिरहेकै छन् ।