पाेखरा प्रिमियर लिग : चितवन राइनाेजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

पाेखरा प्रिमियर लिग : चितवन राइनाेजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेकाे छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

चितवन राइनोजले १०८ रनकाे सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्याे । चितवनका लागि बाबर हयातले अविजित ६६ तथा सन्नी पटेलले अविजित २२ रनकाे याेगदान गरेपछि १०८ रनकाे लक्ष्य ३१ बल बाँकी छँदै पूरा भएकाे हाे ।

बलिङतर्फ पाेखराका रसिद खान र सर्वजित लड्डाले दुई-दुई विकेट लिए । 

यसअघl, खराब सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १९ रनमा दोस्रो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट झार्न पुग्यो । उसका ओपनर कुशल भुर्तेल जसले पहिलो खेलमा अर्धशतक बनाएका थिए उनी मात्र पाँच रनमा आउट भए ।

त्यसपछि आसिफ शेखपनि १० रनमा आउट हुँदा रवीइन्दर सिंहपनि १० रनमा नै पेभेलियन फर्किए । त्यसपछि विनोद भण्डारी सात रनमा आउट हुँदा पोखराको पारी संकटमा परेको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि खाता खोल्न नपाउँदै रनआउट भए ।

पोखराका खेलाडीबीच दरिलो साझेदारी हुन नसक्दा उसले ९२ रनमा ६ विकेट खेर फाल्यो । पोखराको पारीलाई सम्हालेका कप्तान शरद भेषावकर ४५ रनमा पेभेलियन फर्किएपछि उसले सातौँ विकेट गुमायो । बलिङमा चितवनका सन्नी पटेल र रोहन मुस्तफाले दुई-दुई विकेट लिए ।